बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा आयोजना गरिएको आयोजना गरिएको १५ दिने सयपत्री फुल खेती तालिमका सहभागीहरुलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो इटवालमा फूलखेतीको अवलोकन भ्रमण गराइएको छ ।उनीहरुलाई स्थानीय सुरेश कुशवाहले १० बिगाहा जग्गामा रोपेको फूलबारीको अवलोकन भ्रमण गराइएको हो । भ्रमणको क्रममा फुलखेतीको लागि चाहिने जनशक्ति, जग्गा र रोप्ने तरिकाको बारेमा कुशवाहाले सहभागीहरुलाई जानकारी गराउनुुभएको थियो ।
अवलोकन भ्रमणको क्रममा सहभागीहरुले सिम्रौनगढको कंकालीमाई मन्दिर, रानीवास हुँदै महागढीमाई नगरपालिकाको गढीमाई मन्दिरको पनि दर्शन गरेका थिए ।यसैबीच १५ दिने फूलखेती तालिमको आइतवार समापन भएको छ । क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिको आयोजनामा भएको सो तालिम समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष मंगले लोप्चनले फूलखेतीबाट पनि आय आर्जन गर्न सकिने बताउनुभएको छ । उहाँले रोजगारी र आम्दानीको लागि जागिर नै खानुपर्छ भन्ने धारण गलत रहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक अध्यक्ष पुस्कर खड्का, वडा नम्बर १ को वडा सदस्य कन्तलाल धामी, हरिबहादुर थापा, राधिका राई, विष्णु माया विक लगायतको पनि उपस्थिति रहेको थियो । अतिथिलाई सुदकुमारी तिमल्सिना मुना बास्ताकोटीले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो ।
निजगढ नगरपालिकाको नगर कार्यपालिका सदस्य फुलमाया घलान लोप्चनको पहलमा २०८०-८१ को विनियोजित ४ लाख रुपैयाँको लागतमा १५ दिने सयपत्री फुलखेती तालिम संचालन गरिएको थियो ।
तालिममा प्रमुख प्रशिक्षक नेपाल सयपत्री फुल उत्पादक संघ केन्द्रीय कार्यालय काठमाडौंका बालकृष्ण चौलागाई र सहायक प्रशिक्षकमा विवेक वाइवा रहनुभएको थियो । कार्यक्रममा स्वागत मनतव्य वडा नम्बर १ का नमुना बस्ती निवासी समाजसेवी संजिव लोप्चनले राख्नुभएको थियो । तालिममा सिंगौलका तीनै वटा वडाबाट ३८ जना महिलाहरुको सहभागिता रहेको थियो ।
निजगढमा फूलखेती प्रबद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ । नगर कार्यपालिकाको बैठकले सार्वजनिक कार्यक्रमा खादा र व्याजको प्रयोग रोक्ने निर्णय गरेपछि कार्यालयले नगरमा व्यवसायिक रुपमा फूलखेती गर्ने योजना बनाएको छ ।विदेशबाट आयत भएको खादा खरिद गर्नुपर्दा वर्षेनी लाखौ रुपैयाँ बाहिर जाने भएकोले यसलाई रोक्न र स्थानीयलाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको कार्यपालिका सदस्य फूलमाया लामाले बताउनुभयो ।यसअघि कार्यक्रमको उद्धाटन निजगढ नगरपालिका मेयर सुरथ पुरीले गर्नुभएको थियो । क्रियटिभ स्किल नेपालका निर्देशक बिष्णुप्रसाद रिसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

















