काठमाडौं । अमेरिकासँग युद्ध अन्त्य गर्ने विषयमा वार्ता अघि बढाउन इरानले आफ्ना पुरानै सात सर्त दोहोर्याएको छ। इरानी संसद्का सभामुख तथा वार्ता टोलीका प्रमुख मोहम्मद बाघेर गलिबाफले सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता वा सम्झौता नहुने स्पष्ट पारेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्सका अनुसार गलिबाफले इरानको वार्तासम्बन्धी अडानमा कुनै परिवर्तन नभएको बताएका हुन्।
उनले इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म कुनै कदम नचाल्ने र वार्तामा समेत नबस्ने बताएका छन्। अमेरिकाले दिइरहेका धम्की तथा अपमानजनक अभिव्यक्तिलाई आफ्नो निराशाको संकेतका रूपमा व्याख्या गर्दै उनले इरान आफ्नो अडानमा दृढ रहेको उल्लेख गरेका छन्।
गलिबाफले अमेरिका र इजरायलबाट हुन सक्ने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन्। दुवै देशले इरानको क्षमताबारे गलत आकलन गरेमा युद्धको दायरा थप विस्तार हुन सक्ने उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला अभिव्यक्ति तथा धम्कीको जवाफमा आफूले यस्तो धारणा सार्वजनिक गरेको गलिबाफले बताएका छन्।
यसअघि अमेरिकी अर्थमन्त्री बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए।
यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानसँग सम्बन्धित दुई दर्जनभन्दा बढी मुद्रा विनिमय केन्द्र, नक्कली कम्पनी तथा विभिन्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। इरानको विश्वव्यापी छाया बैंकिङ सञ्जाललाई कमजोर बनाउने उद्देश्यले प्रतिबन्ध लगाइएको अमेरिकी पक्षको दाबी छ।
इरानले अमेरिकासँगको वार्ताका लागि अघि सारेका सात सर्तमा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, आर्थिक प्रतिबन्धमा राहत दिनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम लागू गर्नुपर्ने र युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्ने लगायतका माग समेटिएका छन्।
इरानले आफ्ना सर्त पूरा नभएसम्म वार्तामा नबस्ने अडान दोहोर्याएपछि अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक सहमति जुटाउने प्रयास थप चुनौतीपूर्ण देखिएको छ।

















