काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा राजनीतिक तनाव थप चर्किएको छ। राजधानी ढाकासहित देशका विभिन्न क्षेत्रमा बम विस्फोट, आगजनी र राजनीतिक दलका कार्यकर्ताबीच झडपका घटना भएका छन्।

प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि भएका हिंसात्मक घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ। त्यस्तै, चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगो लगाएको समाचारमा उल्लेख छ।

राजधानी ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको बताइएको छ।

२८ जिल्लामा बम विस्फोट, चार जनाभन्दा बढीको मृत्यु

बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन्। विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ।

हिंसात्मक घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन्। पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्‍यालीमाथि आक्रमण गर्दा दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ।

त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि ज्यान गएको छ।

हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव

अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन्। उनले यसै महिनाको सुरुवातमा आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि बंगलादेश फर्किने घोषणा गरेकी थिइन्। त्यसयता मुलुकमा राजनीतिक तनाव बढ्दै गएको छ।

मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए। प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो।

बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

यसअघि मंगलबार राति संसद्मा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनाअनुसार फेरि एकजुट भएर निरंकुश शक्तिलाई पराजित गर्नुपर्ने बताएका थिए। ‘द डेली स्टार’का अनुसार रहमानले सांसदहरूलाई सरकारी संयन्त्रमा मात्र निर्भर नभई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन्।

ढाकाबाट ५६५ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन्।

गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्।

सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए।

पछिल्ला घटनाक्रमले बंगलादेशमा राजनीतिक ध्रुवीकरण र अस्थिरता थप गहिरिँदै गएको देखाएको छ।

Leave a Reply