शेन्जेन । विश्वका तीन शक्तिशाली मुलुकका राष्ट्रप्रमुख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको शेन्जेनमा त्रिपक्षीय वार्ता सुरु भएको छ।
एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका क्रममा आयोजित उक्त बैठकलाई अन्तर्राष्ट्रिय कूटनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ।
बैठकको सुरुआतमा तीनै नेताले आ–आफ्नो देशको राष्ट्रिय झन्डाअगाडि उभिएर सामूहिक तस्बिर खिचाएका थिए। त्यसपछि उनीहरू औपचारिक छलफलमा सहभागी भएका थिए। तस्बिर खिचाउने क्रममा चिनियाँ राष्ट्रपति सी मुस्कुराइरहेका देखिए भने ट्रम्प र पुटिन गम्भीर मुद्रामा थिए। बैठकअघि तीन नेताबीच हात मिलाएको दृश्य भने देखिएन।
वार्ताको सुरुआती सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धलाई आफ्नो प्रमुख चासोको विषय बनाएका छन्। पछिल्लो २४ घण्टामा सी र ट्रम्पसँग छुट्टाछुट्टै छलफल गरेको उल्लेख गर्दै उनले युक्रेन मामिलामा तीन देशका साझा चासो रहेको धारणा व्यक्त गरे।
चिनियाँ राष्ट्रपति सीले यस बैठकलाई ऐतिहासिक महत्त्वको अवसरका रूपमा व्याख्या गरे। विश्व शान्ति र स्थायित्व कायम गर्न ठूला शक्ति राष्ट्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले विश्वव्यापी चुनौतीको सामना गर्न तीनै देश मिलेर अघि बढ्नुपर्ने बताए।
त्यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक हतियार नियन्त्रणको विषयमा छलफल गर्न तीनै देश उपयुक्त अवस्थामा रहेको बताए। विगतमा असमझदारी भएका नेताहरूसँग संवाद नगर्ने प्रवृत्तिको आलोचना गर्दै उनले वार्ताबाटै शान्ति स्थापनाको सम्भावना खोज्नुपर्ने धारणा राखे।
ट्रम्पले विश्वलाई प्रभावित पारिरहेका प्रमुख समस्याहरू समाधान गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको बताए। बैठकअघि पुटिनसँग युक्रेन युद्धबारे छलफल गरिसकेको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय चासोका विभिन्न विषयमा विचारविमर्श हुने बताए।
तीनै नेताबीचको छलफलबाट युक्रेन युद्ध, आणविक हतियार नियन्त्रण, विश्व शान्ति तथा शक्ति राष्ट्रबीचको सम्बन्धका विषयमा के(कस्ता निष्कर्ष निस्कनेछन् भन्ने चासो बढेको छ।

















