वीरगन्ज,पर्साको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यको नाम सिफारिस गरेको छ ।
पर्सा क्षेत्र नम्बर २ को (क) र (ख) को बुधवार बसेको छुट्टाछुट्टटै बैठकले प्रतिनिधि सभा सदस्यमा सहमतिका साथ अमात्यको नाम सिफारिस गरेको हो । अमात्यले २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट सांसद रहे पनि अरुलाई अवसर दिन त्याग गर्नुभएको थियो । अमात्यले समानुपातिक सांसद अनिल रुंगटालाई अवसर दिनुभएको हो ।
रुंगटा तत्कालिन संघीय समाजवादी फोरमका प्रदीप यादवसँग पराजित हुनुभएको थियो । यसपटक सोही क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया पनि प्रतिनिधि सभा सदस्यका आकाक्षी हुनुहुन्थ्यो ।
यद्यपि यसअघि पनि पराजय बेहोरेका चौरसियालाई पुनः उम्मेदवार बनाउँदा पुनः हार बेहोर्न सकिने अवस्थालाई मध्यनजर गर्दै अमात्यको नाम सिफारिस गरिएको कांग्रेस स्रोतले जनाएको छ ।
त्यसैगरी पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ कोइलाभारमा बसेको क्षेत्र नम्बर २ (क) को बैठकले प्रदेश सभा सदस्यमा पुनः राजेश्वर साह तेलीलाई नै उम्मेदवारका लागि सिफारिस गरेको छ ।
सोही प्रदेशसभा क्षेत्रमा सामानुपातितर्फ विजय कर्ण, कामेश्वर मिश्रा, वीर बहादुर यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी थरुइन, अर्चना चौधरी र गोकर्ण मैनालीको नाम सिफारिस गरिएको छ ।
यता वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माइस्थान अतिथि सदनमा बसेको क्षेत्र नम्बर २ (ख) को बैठकले प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ डाक्टर सुष्मा तिवारी द्विवेदी, कन्हैयालाल केसरी, शम्भु चौहान र रुपा देवी गुप्ता गरि ४ जनाको नाम सिफारिस गरेको छ ।
उक्त बैठकले प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ ओम प्रकाश शर्मा, श्याम पटेल, भोला प्रसाद कलवार, रामरुप कुर्मी, दिना गुप्ता, नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।
यस्तै प्रदेशसभा सदस्यमै समानुपातिकतर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी, महम्मद सतार मन्सुरी, विजय उपाध्याय, ध्रुब नेपाल, बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी, प्रदीप कुशवाहा, विद्या श्रेष्ठ, प्रियंका केसरी, रुपा श्रेष्ठ, शीवनारायण साह र सुखल हजरा पासवानको नाम सिफारिस गरेको काँग्रेसको प्रदेश सभा क्षेत्र नम्बर २ (ख) का प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिनुभयो ।