प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आएका भन्दै चिन्ता व्यक्त गरेका छन् । निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । देशको आम्दानी अवस्था नाजुक रहेकोतर्फ जोड दिँदै उनले भने, ‘हुँदाहुँदा कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आइसक्यो ।’
देशमा विकास निर्माणको अवस्था कमजोर रहेको भन्दै प्रधानमन्त्री देउवाले यसमा कर्मचारी जिम्मेवार रहेको बताए । ‘२५ वर्षसम्म पनि बाटो बनेको छैन,’ उनले भने । कर्मचारी फिल्डमै नजाने र जिम्मेवारी लिएर काम नगर्ने प्रवृत्ति रहेको उनले औँल्याए । देशको दुर्गतिमा राजनीतिज्ञ मात्र नभएर कर्मचारीको पनि भूमिका रहेको प्रधानमन्त्री देउवाले बताए । देशमा तीन तहको कर्मचारी संरचना भए हुनुपर्ने काम नभएको उनको भनाइ थियो ।
देश विकासमा राजनीतिज्ञ र कर्मचारीको भूमिकाबारे बहस आवश्यक रहेको प्रधानमन्त्री देउवाले औँल्याए । त्यस्तै, निजामती सेवा दिवसका अवसरमा सरकारले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव मुना शर्मा, पाख्रिवास नगरपालिका, धनकुटाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, गृह मन्त्रालयका उपसचिव शोभाकर रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सन्तोष पौडेल, पर्यटन मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, लोकसेवा आयोगका शाखा अधिकृत रुकु शर्मा पौडेल र कोष तथा लेखा नियन्त्रक कार्यालय, रुपन्देहीका महंगु लोध छन् । त्यस्तै, अरू ३० कर्मचारी निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
यद्यपि, पुरस्कार छनोटको निष्पक्षतामाथि भने प्रशासकहरूले नै प्रश्न उठाएका छन् । योग्यता र अनुभवभन्दा कतिपयलाई दल निकट हेरेर पुरस्कार दिइएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन् । साभार नयापत्रिका