पुष्पराज खतिवडा
मनहर्वा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वा खेल मैदानमा १३ माघदेखि तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।बडहर्वास्थित मौवादेवी युवा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता तयारीका सम्बन्धमा विभिन्न चरणमा छलफलसहित अर्थ संकलनको काम भैरहेको आयोजक क्लबका अध्यक्ष निर्मलकुमार यादवले बताउनुभयो ।बारा, पर्सा, चितवन, मकवानपुर, सर्लाही र रौतहट जिल्लाका विभिन्न ८ वटा टिमलाई प्रतितयोगितामा सहभागी गराउने प्रयास अन्तिम चरणमा रहेको छ । खेल मैदानको सरसफाइ सहितको आवश्यक तयारी समेत भैरहेको उहाँले जानकारी दिनुभयो ।स्थानीयबासी, स्थानीय संघ संस्था र जीतपुरसिमरा उपमहानगगरपालिका, वडा नम्बर १८ सहितका अन्य वडाहरुबाट समेत प्रतियोगिता सम्पन्न गर्नेगरी आर्थिक सहयोग गर्ने काम भैरहेको यादवले जानकारी दिनुभयो ।करिब २१ लाख रुपैयाको लागत अनुमान गरिएको प्रतियोगिताको विजेतालाई २ लाख एक रुपैंया र उपविजेतालाई १ लाख एक रुपैंया पुरस्कार प्रदान गरिनेछ । यस्तै दैनिक हुने खेलका उत्कृष्ठ खेलाडी, प्रतियोगिताका उत्कृष्ट, सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष यादवले बताउनुभयो ।साविक मनहर्वा गाविसभरिका युवा, सामाजिक अगुवा खेलप्रेमीहरुलाई समेटेर विभिन्न चरणमा भएको छलफलपछि प्रतियोगिता हुन लागेकाले सौहाद्र र सुरक्षित रुपमा प्रतियोगिता सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।२०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप सम्पन्न भएको थियो । पहिलो प्रतियोगिताको उपाधी एपिएफ पिलुवा र दोस्रो एनजेजेवाईसी समिराले जितेको थियो । यस्तै पहिलो प्रतियोगितामा एनजेजेवाईसी सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता बनेका थिए ।पहिलो प्रतियोगिताको पुरस्कार राशी २५ र १५ हजार रुपैयाँ थियो भने दोस्रोमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो । दोस्रो प्रतियोगिता सम्पन्न भएको ९ वर्षपछि तेस्रो मनहर्वा गोल्डकपको आयोजना गर्न लागिएको हो ।


















