काठमाडौं, ८ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रद्द गरिए मधेशमा आन्दोलन चर्किने चेतावनी दिएका छन्। उनले लामो समयदेखि अन्योलमा रहेको आयोजनाको काम अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद झाले आयोजना रद्द गर्ने अवस्था आए मधेशका नागरिक आन्दोलनमा उत्रिनुको विकल्प नरहने बताए। उनले भने, ‘रद्द भयो भने त यो मधेश आन्दोलित हुनेबाहेक अर्को कुनै उपाय नै हुँदैन।’

सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेश प्रदेशको कृषि र आर्थिक विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै झाले यसको काम रोकिँदा किसान तथा स्थानीय नागरिक निराश भएको बताए। आयोजनाको काम किन रोकियो, अब कसरी अघि बढाइन्छ र त्यसका लागि कति समय लाग्छ भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो।

करिब ६ वर्षअघि सुरु भएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासमेत रहेको छ।

आयोजनाअन्तर्गत १३।३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु २०८१ वैशाख २६ गते सम्पन्न भए पनि त्यसपछि निर्माणको कामले गति लिन नसकेको भन्दै झाले असन्तुष्टि जनाए। ब्रेकथ्रु भएको लामो समय बितिसक्दा पनि आयोजना अघि नबढ्नुको कारण र आगामी कार्ययोजनाबारे स्पष्ट पार्न उनले माग गरे।

मधेशको मुख्य आर्थिक आधार कृषि भएकाले सिँचाइ आयोजना अन्योलमा पर्दा कृषि उत्पादन र क्षेत्रको भविष्य प्रभावित हुने उनको भनाइ थियो। मधेशमा उपलब्ध प्रमुख सम्भावना कृषि नै भएकाले त्यसलाई समेत प्रभावित पार्ने गरी आयोजना अल्झाएर राख्न नहुने उनले बताए।

आयोजनाले मधेशमा पानीको उपलब्धता बढाउनुका साथै बढ्दो मरुभूमीकरण नियन्त्रणमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको उल्लेख गर्दै झाले निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्न आग्रह गरे। स्पष्ट कार्ययोजना प्रस्तुत भए सांसदहरूले संसद् र सम्बन्धित निकायमार्फत आयोजना अघि बढाउन दबाब दिन सक्ने उनले बताए।

यसैबीच, आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषय सार्वजनिक लेखा समितिमा पुगेको छ। ठेक्का रद्द गर्ने निर्णय प्रक्रियासंगत नभएको दाबीसहित समितिमा उजुरी परेपछि यसबारे छलफल सुरु गरिएको हो।

समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालगायत अधिकारीहरू सहभागी छन्। छलफलका क्रममा महानिर्देशक रजौरियाले भने ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।

Leave a Reply