निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीको नयाँ नेतृत्व चयनमा सहमति भएको छ । प्रथम नगर अधिवेशनको अध्यक्ष मण्डलका सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्षसहित ५ जना पदाधिकारीको नाममा सहमति भएको हो । तर सहमतिको नाम भने सार्वजनिक गरिएको छैन । अध्यक्षसहित पदाधिकारी चयनमा सहमति भएपछि नेकपा एमाले निजगढले नयाँ नेतृत्व पाउने भएको छ ।
स्रोतका अनुसार नगर कमिटीको अध्यक्षमा सुरत पुरी, उपाध्यक्षमा भोलाप्रसाद गौतम, सचिवमा तिलक घलान र सहसचिवमा थानेश्वर सापकोटा ‘अविरल’ तथा मनमाया विक चयन हुनु भएको छ । नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यलाई मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराइने बताइएको छ ।
गत मंसिर ४ गते आयोजना भएको पहिलो निजगढ नगर अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा सहमति हुन नसकेपछि निजगढ एमालेको नयाँ नेतृत्व चयन अन्यौलमा पर्दै आएको थियो । अधिवेशनले नगर कमिटीका सदस्यहरु निर्विरोध चयन गरेर पनि पदाधिकारीमा सहमति नभएपछि नयाँ नेतृत्व चयन बिना नै अधिवेशन स्थागित भएको थियो । अध्यक्ष पदको लागि वर्तमान अध्यक्ष दिलबहादुर लामा, पूर्वअध्यक्ष सुरत पुरी, तिलक घलान, थानेश्वर सापकोटा र जयराम कुवरले दावी गर्दै आउनुभएको थियो ।