८ मंसिर, जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको सरयू कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। रेलमा सवार तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ।

जनकपुरधाम आइपुगेको रेल तथा तीर्थयात्रीलाई सरकारी टोली र सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका थिए। स्वागतका क्रममा तीर्थयात्रीलाई फूलमाला लगाएर सम्मानसमेत गरिएको थियो।

प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहको भारतको राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्लीबाट प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा झण्डा देखाएर रेलसेवाको शुभारम्भ गरेका थिए। त्यसपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो।

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले अयोध्या–जनकपुरधाम रेलसेवा सञ्चालनमा ल्याइएको हो।

अयोध्या भगवान् रामको जन्मभूमि तथा माता सीताको ससुरालीका रूपमा परिचित छ भने जनकपुरधाम माता जानकीको जन्मभूमि र भगवान् रामको ससुराली हो। यी दुई धार्मिक नगरीलाई रेलमार्गबाट जोडिएसँगै दुवै देशका श्रद्धालुलाई धार्मिक यात्रामा सहजता पुग्ने अपेक्षा गरिएको छ।

यस रेलसेवाले नेपाल–भारतबीचको रोटीबेटीको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन, तीर्थाटन र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

Leave a Reply