जनकपुरधाम। विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका १० जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत सोमबार उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमध्ये बैंकिङ कसुर मुद्दाका एक जना, ज्यान मार्ने उद्योगका पाँच जना, झैझगडा तथा कुटपिटका एक जना र आपराधिक उपद्रव तथा डाँका चोरीसम्बन्धी मुद्दाका एक जना रहेका छन्।
त्यस्तै, सवारी ज्यान मुद्दामा एक वर्ष कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका एक जना तथा कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको बाँकी सजाय कुल तीन वर्ष कैद र २ लाख ३९ हजार रुपैयाँ जरिवाना रहेको छ।
पक्राउ परेकामध्ये कर्तव्य ज्यान मुद्दाका एक जना र ज्यान मार्ने उद्योग मुद्दाका एक जनालाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ। अन्य प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा बुझाइएको छ।

















