पुष्पराज खतिवडा
मनहर्वा,होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन बारा प्रहरीले सर्वसाधारणसंग अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले बिहीवार एक सूचना जारी गर्दै आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसंग मात्र होली खेल्न भन्नुभएको छ ।
होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्न, असभ्य र अश्लील किसिमको होलीका नबजाउन र साँझ अवेलासम्म होली नखेल्न पनि प्रहरीको अनुरोध छ । ध्वनी प्रदुषण गर्ने र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउण्ड सिस्टम आदिको प्रयोग नगर्न प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
कसैको ईच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर फाल्ने जस्ता काम नगर्न र महंगा गरगहना लगाएर होली नखेल्न पनि प्रहरीले सजग गराएको छ ।
त्यसैगरी ट्राफिक नियमको पूर्णरुपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक, पैदल यात्री र बटुवालाई होली खेल्ने नाममा कुनै पनि प्रकारको करकापमा नपार्न पनि प्रहरीको अनुरोध छ ।प्रहरीको अनुरोधलाई बेवास्था गर्दै गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन गरेमा र सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य गरेमा वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा चेतावनी पनि दिइएको छ ।















