तस्विर : गुगल

कलैया, ८ मंसिर। बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। मङ्गलबार बिहान करिब ३ बजे स्थानीय रतन महरा चमारको घरबाट सुरु भएको आगलागीले ठूलो क्षति पुर्‍याएको हो।

आगलागीबाट घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, दुईवटा साइकल तथा घरपालुवा बाख्रा जलेर नष्ट भएका छन्। आगो फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमा समेत आंशिक क्षति पुगेको छ।

आगलागीको खबर पाएलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरी चौकी मटिअर्वा, सशस्त्र प्रहरी बल मटिअर्वा तथा कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाबाट खटिएको टोलीको संयुक्त प्रयासमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रहरी चौकी मटिअर्वाका प्रमुख प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार प्रारम्भिक विवरणमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। समयमै आगो नियन्त्रणमा लिइएकाले मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

Leave a Reply