वीरगन्ज,वीरगन्जमा प्रहरीको हिरासतबाट फरार भएका लागू औषध मुद्दाका अभियुक्त पक्राउ परेका छन् । लागू औषध मद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका– ३ का १४ वर्षिय बिक्की सोनार, आइतबार बिहान फरार भएका थिए । उनलाई सोमबार बिहान वीरगन्ज भन्सार क्षेत्रबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
गत भदौ १६ गते भारतको रक्सौलबाट आउदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनारलाइ प्रहरीले लागू औषध सहित पक्राउ गरेको थियो । उनको साथबाट लागु औषध नुर्फिन ७, डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो । लागु औषध सहित पक्राउ परेपछि उनलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो ।
प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उनलाइ उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा लगेर भर्ना गरिएको थियो । अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार ,आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाइ झुक्याएर अस्पतालबाट फरार भएका थिए ।