निजगढ, २४ भदौँ– नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार नपाएर मृत्यु भएका भनिएका बाराको कोल्हवी नगरपाकिलाका एक युवकको मृत्यु घटना बारे छानविन गर्न उपक्षेत्रीय अस्पतालले समिति गठन गरेको छ ।
कोभिड– १९ संग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका कोल्हवी नगरपालिका वडा नम्बर– ४ का बोधाई चौधरीका छोरा २३ वर्षिय बिक्रमको उपचारको क्रममा भएको मृत्युको घटना छानविन गर्न चिकित्सकहरुको ३ सदस्यीय छानविन समिति गठन गरिएको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट संजयकुमार ठाकुरले जानकारी दिनुभयो ।
आइसियुमा राखेर उपचार गर्ने क्रममा चौधरीको सोमबार मृत्यु भएको थियो । चिकित्सकहरुको लार्पवाहीका कारण उपचार नपाएर मृत्यु भएको भन्दै बिक्रमका दाजु अनिलले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीपछि जिल्ला सुरक्षा समितिको बैठकबाट घटना बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने निर्णय भएको थियो । मन्त्रालयले पत्राचार गरेपछि अस्पतालले पनि समिति गठन गरेर घटनाको छानविन गर्न लागेको हो ।
अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट ठाकुरले हस्ताक्षर गरेको पत्रमा छानविनको लागि समिति गठन गरिएको र दोषि पाइए स्वास्थ्यकर्मीमाथि कारवाही हुने र मृतक परिवारमा उचित क्षेतिपुर्तिको सम्बन्धित निकायमा माग गर्ने पनि भनिएको छ । कोभिड–१९ को लक्षण देखिएको भन्दै स्वास्थ्यर्मीले उपचारमा बेवास्ता गरेपछि चौधरीले अकालमा ज्यान गुमाउनु परेको आफन्तहरुले बताएका छन ।
चिकित्सकहरुको लार्पवाहीले युवकको मृत्यु भएको भन्दै कोल्हवी नगरपालिका वडा अध्यक्षहरुसहितको टोली अस्पतालमा पुगेर घटना छानविन गर्न दवाव दिएका थिए । मृतक युवकको पिसिआर परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।