निजगढ,बाराको निजगढ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित समुदायमा आधारित घरबास (होमस्टे) सञ्चालनलाई प्रवद्र्धन सम्बन्धि सातदिने तालिम सुरु गरेको छ ।निजगढको उत्तरी भेगमा बसोवास गर्ने कछडिया तथा माझी बस्तीलाई लक्षित गर्दै बुधबारदेखि घरबास व्यवस्थापन तालिम सञ्चालनमा ल्याइएको हो ।निजगढ नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा सुरु गरिएको उक्त तालिममा ७५ जनाको सहभागिता रहेको छ । तालिममार्फत स्थानीय समुदायलाई घरवास सञ्चालन, पाहुना सत्कार, सरसफाइ, स्थानीय खानाका परिकार तयार गर्ने सीप तथा पर्यटन व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ ।

नगर उपप्रमुख सोम माया थिङले गाउँमा पर्यटक भित्र्याएर स्थानीय समुदायलाई स्वरोजगार तुल्याउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँकाअनुसार घरमै उपलब्ध कोठालाई व्यवस्थित गरी पाहुनालाई सशुल्क सेवा दिन सकिने सम्भावना भए पनि ज्ञानको अभावमा स्थानीयवासीले व्यवस्थापन गर्न सकेका थिएनन । उहाँले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत, सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर सेवा गर्न सकिने भए पनि तालिमको अभावमा कहाँबाट र कसरी सुरु गर्ने भन्ने समस्या थियो । अब तालिमपछि त्यसको समाधान हुने विश्वास लिएका छौँ ।’

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले होमस्टे सञ्चालनले स्थानीय उत्पादनको बजारीकरणसँगै आम्दानीको स्रोत बढाउने बताउनुभयो । उहाँले तालिममा सहभागीलाई घरबास व्यवस्थापनका साथै स्थानीय स्तरमा उत्पादन हुने खाद्यवस्तुबाट विभिन्न परिकार बनाउन सिकाइने जानकारी दिनुभयो । ‘पाहुनालाई स्थानीय परिकारको स्वाद र संस्कृतिको अनुभव गराउन सकियो भने गाउँको उत्पादनको बिक्री बढ्नुका साथै सञ्चालकले पनि राम्रो आम्दानी गर्न सक्छन,’ गौतमले भन्नुभयो । तालिमले घरबास सञ्चालनको नीति, व्यवस्थापन र सेवा प्रवाहबारे समेत जानकारी दिइने जनाइएको छ ।

पालिकाका कछडिया, माझी तथा मगर समुदायमा होमस्टे सञ्चालन गर्न इच्छुक स्थानीयको लागि तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।तालिममा प्रशिक्षक मोहनबहादुर गजुरेल र नकुल धितालले सहजीकरण गरिरहनुभएको छ । प्रशिक्षक गजुरेलले होमस्टे केवल बसोबासको माध्यम नभई स्थानीय संस्कृति, परम्परा र आतिथ्यतालाई पर्यटकसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँका अनुसार तालिममा सरसफाइ, गुणस्तरीय खाना तयारी, पाहुना सत्कार, सुत्ने र खाना खाने कोठा व्यवस्थापन तथा प्रचारप्रसारका विषयमा व्यवहारिक ज्ञान दिइनेछ ।

पर्यटनविद् डा. उद्धव पुरीले गाउँमै उपलब्ध स्रोत, स्थानीय संस्कृति र प्राकृतिक सम्पदालाई सदुपयोग गरेर राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । तालिमपछि सहभागीहरूले व्यवस्थित र आकर्षक होमस्टे सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेल्ने उल्लेख गर्नुभयो ।वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटाले तालिमले पर्यटकको मन लोभ्याउने कला सिकाउने विश्वास व्यक्त गर्नुभयो । ‘यो तालिमबाट घरबास व्यवस्थापन मात्र होइन, पर्यटकलाई कसरी खुसी बनाउने भन्ने सीप पनि प्राप्त हुनेछ,’ उहाँले भन्नुभयो ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख अजय उप्रेतीका अनुसार होमस्टे सञ्चालनले स्थानीय संस्कृति संरक्षणसँगै आयआर्जनमा समेत टेवा पुग्नेछ । ‘प्राकृतिक, सांस्कृतिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘यसबाट स्थानीयको जीवनस्तर सुधारमा सहयोग पुग्नेछ ।’कार्यक्रमको सहजीकरण रोजगार संयोजक ऋषभ काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा लेखा अधिकृत शिवप्रसाद देवकोटा, वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो, हिरालाल रानालगायतको सहभागिता रहेको थियो ।

पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त मानिएको निजगढमा पर्सा राष्ट्रिय निकुञ्ज, विभिन्न खोला, झरना, पिकनिक स्थल, धार्मिक स्थल तथा मनोरम दृश्य अवलोकनका लागि वर्षेनि ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन । साथै निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)को प्रभावले पनि निजगढको पर्यटन सम्भावना थप बढ्दै गएको स्थानीयको विश्वास छ ।

Leave a Reply