बरियारपुर,महागढीमाई नगरपालिकाकी नगर उपप्रमुख तारा देबी कानूले शारीरिक र मानसिक विकासको लागि खेलकुद जरुरी रहेको बताउनु भएको छ ।
जागरण युवा क्लब गंजभवानीपुर बाराको आयोजनामा सुरु भएको टि २० क्रिकेट प्रतियोगिताको बुधबार उद्धाटन गर्दै उपप्रमुख कानुले यस्तो बताउनु भएको हो । शिक्षासंगै स्वास्थ्यको लागि खेलकुद पनि अनिवार्य रहेकोले खेलाडीहरुले अनुशासनमा रहेर खेल प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
जागरण युवा क्लब गंजभावानीपुरका अध्यक्ष जयकिसुन यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्धाटन खेलमा ईकिवल क्रिकेट क्लब गरुडा र ग्लोबल युथ क्लब वीरगन्जबीच भएको खेलमा टस जितेर ब्याटिङ गरेको वीरगन्ज युथले निर्धारित २० ओभरमा १ सय ३१ रन बनाएको थियो । त्यसको जवाफमा ईकिवल क्रिकेट क्लब गरुडाले १८ ओभरमा १ सय १ रन बनाई अल आउट भएको थियो ।
खेलको उद्धाटन कार्यक्रममा ज्योति प्याराडाईज सकेन्डरी स्कुलका प्रभुलाल कुशवाहा, एकीकृत समाजवादी पार्टीका कौशलकिशोर सिह, युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरिओम साह, ईमरान आलम लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।