सुनसरी । सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। भारतीय नम्बर प्लेटको स्कार्पियोमा लुकाएर लैजाँदै गरिएको ४९९ किलो गाँजासहित प्रहरीले चालकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।
इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नम्बर प्लेटको स्कार्पियो रोकेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्। उनी उक्त स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजा, स्कार्पियो र पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















