कलैया,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा बिहीबार बाराको कलैयामा बिशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा खेलकुद तथा युवा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कम्युनिष्ट पार्टीमा व्यक्ति नभएर नीति प्रधान हुने भन्दै अध्यक्ष ओलीको व्यक्तिवादी प्रवृत्तिका कारण पार्टीमा समस्या सृजना भएको बताउनुभयो ।

नेता पौडेलले अध्यक्ष ओलीको दम्भका कारण नेकपा बिघटनको अवस्थामा पुगेको बताउदै दुई तिहाईको सरकार गिराउने र एमालेबाट प्रतिनिधिसभामा रहेका १ सय २१ जना सदस्यहरु पनि दिनप्रतिदिन घटदै गएको सुनाउनुभयो । उहाँले पार्टीमा पुगेको क्षतिको जिम्मेवारी अध्यक्ष ओलीले लिनु पर्ने बताउनुभयो । ‘सबैले रिस, राग र दम्भ त्यागेर पार्टीलाई एकताबद्ध तुल्याएर अघि बढनु पर्छ, नेता पौडेलले भन्नुभयो, नेतृत्वले अब पनि सच्चिएर अघि नबढने हो भने पार्टी बिघटन निश्चित छ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशकुमार राईले पार्टी एकबद्ध बनाउन सबैले नेतृत्वलाई दवाव दिनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका अध्यक्ष तथा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले पार्टीलाई जेष्ठ २ अघिको अवस्थामा फर्काएको भनिएता पनि हाल पनि नयाँ संरचनाबाट नै पार्टी सञ्चालन गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले जिल्लाको संस्थापन पक्ष आफुहरु भएको उल्लेख गर्दै अर्को पक्षले विधान विपरीत समानान्तर कमिटी बनाएर जिल्ला अध्यक्ष र सचिव चयन गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठान बाराका अध्यक्ष पलटप्रसाद चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा एमालेकी नेतृ एंव प्रदेशसभा सदस्य सीता गुरुङ, एमाले नेताहरु श्रीप्रसाद पासवान, देव नारायण चौधरी, मनोज पौडेल, महमद समिउल्लाह, अनिल मैनाली, कौशल किसोर सिंह लगायतले पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । निर्माण व्यवसायी सङ्घ कलैयाको हलमा कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply