काठमाडौँ –  नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोसी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिनुभएको हो ।

उहाँका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिब ५०, त्रिशुली ३ ए मा करिव ४२ गरी १२१ जनाको हाराहारीमा टनेलभित्र रहेका छन् । त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उहाँले बताउनुभयो । विभिन्न परियोजनासँग आवद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने उल्लेख गर्नुभयो । परियोजनामा काम गर्नेहरू ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै टनेलभित्र भने नरहेको उहाँको भनाइ छ ।

सहायक रथी थापाले भन्नुभयो, ‘परियोजनाहरूबाट टनेल लगायत कार्य र सम्पूर्ण हेर्दाखेरि ९ सयको हाराहारीमा सम्पर्कविहीन देखाएपनि त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आवद्ध व्यक्तिहरू हुन् । अब सरसर्ती हिसाव गर्ने हो भने रसुवागढी ५, लाङटाङ ७, चिलिमे ७, अपर त्रिशूली १ ५०, त्रिशूली ३ ए ४०, त्रिशूली ३ बी मा गरी हाराहारी १२१ जना मात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ । त्रिशूली ३ बीमा सम्पर्कविहीन भएका सबै टनेलभित्र रहेको होइनन् ।’
उहाँले टनेलको पूर्ण ब्रेकथ्रु नभएसम्म टनेलभित्र फसेका व्यक्तिको खोजी कार्य जारी रहने बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘जबसम्म सम्पूर्ण टनेल ब्रेकथ्रु हुँदैन, त्यतिन्जेलसम्म यो जारी नै रहन्छ । अर्को सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै त्यस सम्बन्धी ल पुग्यो भनेर नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन ।’ उहाँले सेनाले अहिले सूचनामा आधारित उद्धारलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । कुनै स्थानमा व्यक्ति फसेको वा सम्भावित अवस्थाबारे सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उहाँको भनाई छ ।

खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनःस्थापनाका कामसमेत अघि बढाएको जनाएको छ । त्यसअन्तर्गत तुइन तथा झोलुङ्गे पुल निर्माण, रेकी तथा अवरुद्ध सडक खोल्ने काम सुरु गरिएको सेनाको भनाइ छ ।

Leave a Reply