वीरगन्ज,लामो समयदेखि बन्द रहेको वीरगन्जको घण्टाघरको घडी मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार यमपञ्चकको पहिलो दिन अर्थात धनतेरशको शुभदिन पारेर घण्टाघरको घडी पुनः सञ्चालनमा ल्याइएको हो ।
लामो समयदेखि बन्द रहेको घण्टाघरको घडी वीरगन्ज महानगरपालिका र नेपाल युवा उद्यमी मञ्चको सहकार्यमा सञ्चालनमा ल्याइएको हो । घण्टाघरमा जडान गरिएको घडी मंगलबारदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । झण्डै ६ वर्ष पहिले नै तत्कालिन वीरगन्ज उपमहानगरपालिकाले नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगन्जलाई घण्टाघरको घडी सञ्चालन गर्न जिम्मा दिएको थियो ।
नेपाल टेलिकमले भारतको केरलास्थित टुल एण्ड टाईम इञ्जिनिरिङ कम्पनीसँग घडी जडान र मर्मत सहित संचालनका लागि सम्झौता गरेको थियो । तर, घडी जडान भएपनि सम्झौता अनुसार काम हुन नसकेर घण्टाघरको घडी फेरि बन्द भएपछि महानगरपालिकाको वोर्ड बैठकले नेपाल टेलीकमसँग भएको सम्झौता रद्द गरेको थियो । वीरगन्ज महानगरपालिकाले घण्टाघरको घडी मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको र अब यसको सञ्चालन वीरगन्ज महानगरपालिकाले नै गर्ने महानगर प्रमुख सरावगीले बताउनुभयो । त्यसको लागि महानगरपालिकाले ५० लाख रुपैंया बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो ।