सिमरा,बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा सडन डेथबाट निकालिएको हो । सडन डेथमा बागमतीका गोलरक्षक अरुण ब्लोनले गोल गरे भने सेन्ट्रल कलेज भरतपुर एफसीका प्रज्वल थापाको प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगीतामा खेल अवधिभर पाएका थुप्रै राम्रा अवसरको सदुपयोेग गर्न नसक्दा सेन्ट्रल कलेज भरतपुर एफसी पहिलो खेलबाटै बाहिरिनु परेको छ ।
खेलको २२ औँ मिनेटमा बागमतीका निरज थापाले बिके चामलिङलाई फल गरि लडाएपछि पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा सुरुवाती समयमै अग्रता बनाउने राम्रो अवसर खेर फालेको थियो । विपिन गुरुङले प्रहार गरेको फ्रि किकलाई बिके चाम्लीङले हेड गरेपनि बललाई पोष्टको दिशा दिन सकेनन् । ३८ औं मिनेटमा अव्दुला डिओमोले डि बक्स भित्रबाट प्रहार गरेको बल क्रस बार माथिबाट बाहिरिएको थियो । ८२ औँ मिनेटमा उमेश राईले डि बक्स भित्रैबाट गरेको प्रहार वागमतीका गोल रक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरेका थिए । वागमतीका लागि स्टेफन समिरले ४१ औँ मिनेटमा गरेको उत्कृष्ट प्रहार क्रसबारबाट बाहिरिएको थियो । ७५ औँ मिनेटमा अनिस महर्जनले डि बक्स भित्रैबाट गरेको प्रहारलाई भरतपुरका गोल रक्षक मनोज गुरुङले सहहजै रोकिदिए ।
प्रतियोगिताको म्यान अफ द म्याच वागमतीका अरुण ब्लोन घोषित भए । प्रतियोगितामा शुक्रबार सुदुरपश्चिम ११ स्पोर्टस् क्लव धनगढि र एफसि विजय युथ हेटौडा बीच खेल हुने आयोजकले जनाएको छ ।