वीरगञ्ज,पथलैया– वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित रूपमा भइरहेको विद्युत कटौतीका कारण उद्योगहरू दैनिक १० घण्टासम्म विद्युत अभावको मारमा परेका छन् । पछिल्लो एक सातायता बारम्बार भइरहेको विद्युत अवरोधले उद्योगहरूको उत्पादनदेखि उपकरणसम्ममा प्रतिकूल असर परिरहेको उद्योगीहरूको गुनासो छ ।वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार, पूर्वनिर्धारित तालिकाबिना हुने लोडसेडिङले पूरै करिडोरको औद्योगिक वातावरण समस्याग्रस्त बनेको छ । “कुन बेला विद्युत जाने वा आउने भन्ने निश्चित छैन, जसले गर्दा उद्योग सञ्चालनमै अन्योल छ,” उहाँले बताउनुभयो ।

साना तथा मझौला उद्योगहरूले सञ्चालन समय घटाएका छन् भने ठूला उद्योगहरूले पनि उत्पादन कम गरेका छन् । विद्युत आपूर्ति अस्थिर बनेपछि पाँचतारेदेखि सामान्य पर्यटकस्तरका होटलहरू समेत प्रभावित भएका छन् । क्लासिक होटल सिमराका प्रबन्धक राज भट्टकाअनुसार विद्युत कटौतीका कारण महिनामा ३ लाख ५० हजार रुपैयाँ बराबरको डिजेल प्रयोग गरेर जेनेरेटर चलाउनु परेको छ ।

नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रुपेश रुपाखेतीले पिक आवरमा विद्युत माग उच्च हुने भएकाले केही चुनौती भए पनि समय मिलाएर आपूर्ति गरिरहेको बताउनुभएको छ ।करिडोरमा करिब १ सय ५० मेगावाट विद्युत खपत हुने र उद्योगहरूले वार्षिक करिब ४ अर्ब ५० करोड रुपैयाँ विद्युत महसुल तिर्दै आएको तथ्यांक रहेको छ । उद्योगीहरूले प्राधिकरणको लापरबाहीप्रति असन्तोष व्यक्त गर्दै समस्याको तत्काल समाधान गर्न माग पनि गरेका छन् ।

Leave a Reply