कृष्णउदास खनाल

वीरगन्ज,२०३८ साल जेठ १ गते बुवा टुंगराज रेग्मी र माता बालकुमारीको कोखबाट जन्मिनुभएकी पर्साको ठोरी गाउँपालिकाकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी दोश्रो पटकको प्रयासमा मात्रै ठोरीको उपाध्यक्ष बन्न सफल हुनुभएको छ ।

अघिल्लो २०७४ सालको चुनावमा झिनो मतले पराजित हुनुभएकी रेग्मीलाई यसपाली भने ठोरीबासीले उपाध्यक्षमा निर्वाचित गरेका हुन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघबाट राजनीतिक यात्रा शुरु गर्नु भएकी रेग्मीले करिब ८ वर्ष सरकारी कर्मचारीको रुपमा समेत काम गर्नु भएको थियो । २०६४ सालमा तत्कालिन महिला विकास कार्यालय पर्साले महिला कार्यकर्ताका लागि आवेदन आह्वान गरेपछि उहाँले पनि आवेदन दिनु भएको थियो र नाम निस्किएपछि उहाँ महिला विकासको कर्मचारी भइ ठोरी क्षेत्रकै नागरिकहरुको सेवामा खटिनु भएको हो ।

तत्कालिन समयमा महिला विकासका सबै कर्मचारी अस्थायी रहने भएपनि तत्कालिन सरकारको बद्मासी र महिलाप्रतिको विभेदकारी नीतिका कारण २०७२ साल पुस १ गतेबाट कथित अस्थायी कर्मचारी भन्दै उहाँ सहित कार्यालयमा कार्यरत अन्य ६ जना पर्साका महिला कर्मचारीहरुलाई पनि स्वतः अवकास दिएपछि उहाँको यात्रा गाउँतर्फ मोडिएको थियो । तत्कालिन नेकपा मालेका महासचिव सिपी मैनाली दम्पत्ती महिला मंत्री भएताका उहाँ सहित देशभरका जम्मा ३० जना महिला कर्मचारीहरुलाई बिना कारण, बिना क्षतिपूर्ति अवकास दिइएको थियो ।

संघीय सरकारले महिलामाथि हेर्नें दृष्टिकोण एदकमै विभेदकारी भएको भन्दै उहाँले आफू पदमा रहदासम्म ठोरीका महिला र सबै नागरिकहरुको सेवामा दिनरात नभनी लागिरहने बताउनुभयो । लामो समय महिलाकै क्षेत्रमा काम गरेको अनुभव भएको र महिलाहरुको समस्या आफूले नजिकबाट नियालेका कारण पनि आफूलाई नागरिकहरुको सेवा गर्न समस्या नभएको उपाध्यक्ष रेग्मीले बताउनुभयो ।

२०५६ सालमा ठोरीकै ठोरी माविबाट एसएलसी पास गर्नु भएकी रेग्मीले ठाकुरराम बहुमुखी क्याम्पसबाट डिग्री उत्तीर्ण गर्नुभएको छ । राजनीतिमा पढेका ब्यक्तिहरुको पनि आवश्यक भएकाले आफ्नो यात्रा यता मोडिएको रेग्मीको भनाइ छ । रेग्मी गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेकपा एमालेका तर्फबाट उपाध्यक्षको उम्मेदवार रहनु भएकोमा माओवादीका उम्मेदवारलाई पराजित गर्दै उहाँ बिजयी हुनु भएको हो । यो पालिकामा अध्यक्षमा पनि एमालेले नै जीत हासिल गरेको छ । यसअघि २०७४ मा भने दुबैमा माओवादीका उम्मेदवारहरुले जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here