काठमाण्डौं,उत्तर कोरियाले दक्षिण कोरिया र जापानका शीर्ष नेताहरूको ऐतिहासिक शिखर वार्ता हुनुभन्दा केही घण्टा अगाडि नै इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको छ ।जापान र दक्षिण कोरिया दुवैका अधिकारीहरूले यो मिसाइल प्रक्षेपण भएको पुष्टि गरेका छन् । बिहीबार बिहान प्रहार गरिएको मिसाइल जापानबाट करिब एक हजार किलोमिटर पश्चिममा समुद्रमा खसेको थियो ।दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाको पूर्वी तटबाट स्थानीय समय बिहान ७ः१० मा (नेपाली समय अनुसार ०३ः५५ बजे) मिसाइल प्रक्षेपण गरिएको थियो ।जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र आइसीबीएम भएको स्वीकार गरेको छ । करिब ७० मिनेटमा यसले ६ हजार किलोमिटरभन्दा बढी उडान भरेको बताइएको । यो मिसाइलको मारक क्षमता अमेरिकामा रहेको बताइएको छ ।पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो । यद्यपि बाँकी मिसाइलहरू छोटो दूरीमा प्रहार गर्ने खालका थिए ।कोरियाली प्रायद्वीप नजिक अमेरिका र दक्षिण कोरियाबीच जारी नौसेना अभ्यासको बीचमा उत्तर कोरियाले यो कदम चालेको हो । उत्तर कोरियाले धेरै पटक भनिसकेको छ कि उसले यस्ता क्रियाकलापलाई उत्तेजित गर्ने खालको रूपमा हेर्ने गर्छ ।

Leave a Reply