कलैया,कोरोना महामारीका कारण बारामा लगाइएको निषेधाज्ञा थप खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै जिल्लामा आइतबारदेखि सबै प्रकारका पेसा, व्यवसाय र पसल भौतिक दूरी कायम गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न सकिने जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसअनुसार पेसा, व्यवसाय, पसल खोल्नुका साथै सार्वजनिक सेवा प्रवाह गर्ने संघसंस्था तथा कार्यालयले आफ्नो कार्यक्षेत्रमा रहेको पालिकाअनुसार सेवाग्राहीलाई टोकन प्रणालीका आधारमा अतिआवश्यक परेका व्यक्तिलाई दिनको ३ बजेसम्म सेवा प्रदान गर्न सकिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाभित्र जोर गते जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर भएका निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने उहाँले बताउनुभयो । तर, सार्वजनिक सवारी साधनका चालक र सहचालक तथा यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने मास्क लगाउनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । एकै परिवारको सदस्यको हकमा बाहेक एक कोठामा एक जना मात्र रहने गरी होटलको बेड क्षमताको ५० प्रतिशत एक्युपेन्सी रहने गरी आवासीय होटल, लज र पार्टी प्यालेस सञ्चालन गर्ने अनुमतिसमेत प्रशासनले दिएको छ । विद्यालय क्याम्पस, तालिम प्रशिक्षण केन्द्रलगायतमा भने भौतिक रूपमा उपस्थित भइ पठनपाठन कार्य गर्न पाइने छैन । त्यसैगरी हाट बजार, मेला जात्रा तथा भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन । तोकिएको समयभित्र दैनिक उपभोग्य वस्तु बिक्रीका लागि सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौतिक दूरी कायम गरी बिक्री गर्न पाइनेछ । विभिन्न उत्सव कार्यक्रमलगायत लाउडस्पिकर, डिजे बजाउनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

त्यसैगरी पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुनः लम्बिएको छ । जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार दशौंं पटक थप्दै असार २७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घटेपनि निषेधाज्ञा खुला गर्दा फेरि संक्रमणको दर बढ्ने जोखिम कायमै रहेकोले निषेधाज्ञा बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । कोरोनाको दोश्रो लहर बढेसँगै पर्सामा पहिलो पटक बैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लागू गरिएको थियो । बैशाख १६ बाट पहिलो पटक थप गरी बैशाख २३ सम्ममा र दोश्रो पटक थप गरी बैशाख मसान्तसम्ममा र तेश्रो पटक जेठ ६ गतेसम्म, चौंथो पटक जेठ १३ गतेसम्म, पाँचौं पटक जेठ २१ गतेसम्म र छैठौं पटक जेठ ३० गतेसम्मका लागि लम्बाइएको निषेधाज्ञा सातौं पटक परिमार्जन सहित थप गरेर असार ६ गतेसम्मका लागि लम्बाइएको र फेरि धेरै खुकुलो गर्दै आठौं पटक जेठ १३ गते र नवौं पटक थप गरी आइतबार मध्यरातिसम्मका लागि थप गरिएको थियो ।

यसैबीच पर्सामा अब सार्वजनिक यात्रु बस संचालन गर्न पाइने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै जिल्लाभर सार्वजनिक यातायत संचालनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत बैशाख १५ गतेबाट थन्किएका यात्रु बाहक सवारी साधनहरु सोमबारबाट चल्ने पाउनेछन् । यसरी नै बन्द अवस्थामा रहेको होटल व्यवसाय समेत ५० प्रतिशत क्षमतामा संचालन गर्न पाउने व्यवस्था मिलाइएको छ । बिवाह लगायतका सामाजिक कार्यमा बढीमा २५ जना उपस्थित हुने पाउने निर्णय गरिएको छ भने नीजी सवारी साधन संचालनका लागि गएको हप्ताबाट नै स्थानीय प्रशासनले अनुमति दिइसकेको छ भने स्वास्थ्यका सबै सुरक्षा उपाय पालना गरी सबै प्रकारका व्यवसाय संचालन गर्नका लागि समेत अनुमति दिइएको छ । यसअघि समय तोकिएकोमा अब पसल खोल्ने समय हटाइ पूरै अवधि संचालनका लागि अनुमति दिइएको छ तर स्वास्थ्य सुरक्षा पालना नभए कारवाही गर्ने प्रशासनले स्पष्ट पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here