नरेश गुप्ता
बरियारपुर,बाराको महगढीमाई नगरपालिका र निजगढ नगरपालिकामा आइतबार कोभिडको लक्षण देखिएका ५४ जनाको स्वाब संकलन गरिएको छ । निजगढमा १८ पुरुष र १८ महिला गरी ३६ र बरियारपुरमा १८ जनाको स्वाब संकलन गरिएको हो । निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र महागढीमाईको वडा नम्बर २ स्थित स्वस्थ्य चौकीमा कोभिडको लक्षण देखा परेका सर्वसाधारणको स्वाब संकलन गरिएको हो । निजगढमा पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेको संख्या बढेकोले स्वाब संकलन गरिएको नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख मणिश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँले संकलन गरिउको स्वाब परीक्षणकोलागि जिल्ला अस्पताल कलैया पठाइएको र केही दिनभित्र नै रिपोर्ट प्राप्त हुने बताउनुभयो । निजगढमा २ दिनयतामात्रै कोभिडसंग मिल्दोजुल्दो लक्षण भएका ५ जनाको मृत्युृ भएको छ ।
त्यसैगरी महागढीमाईमा पनि कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखा परेका नगर भित्रका सर्वसाधारणको पिसिआर परीक्षण गर्न स्वाब संकलन गरिएको नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो । कोभिड १९ को संक्रमण नियन्त्रणमा महागढीमाई नगरपालिकाले जेठ १ गतेदेखि रुखाखोकी, ज्वरो र टाईफडको परीक्षणको लागि निशुल्क ल्याब सेवा पनि संचालनमा ल्याएको उहाँले बताउनुभयो । त्यसैगरी कोरोना संक्रमितको उपचारको लागि नगरपालिकाले आईसोलेसन वार्ड समेत निर्माण गरिसकेको र २४ सै घण्टा एम्बुलेन्स सेवा समेत सुरु गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले नागरिकको स्वास्थ सुरक्षाको लागि सबै वडामा रहेका स्वास्थ्य केन्द्रहरुबाट सेवा शुरु गरेको नगरप्रमुख यादवले जानकारी दिनुभयो । नगर प्रमुख यादव र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिजयप्रसाद कुशवाहाले नगरभित्रका स्वास्थ्य केन्द्रहरुको आइतबार निरीक्षण गर्नुभएको थियो ।