नरेश गुप्ता,कलैया उपमहानगरपालिकाका सूचना अधिकारीले निवेदकले माग गरे बमोजिमको सूचना विवरण उपलब्ध गराउन सक्नु भएको छैन । कलैया उपमहानगरपालिकामा सूचना हक प्रयोग गर्दै गत असार २५ गते दर्ता गरेको निवेदन झण्डै एक महिना बितिसक्दा पनि आर्थिक प्रशासन शाखाले प्रमाणित विवरण उपलब्ध गराउन नसकेको हो ।
सार्वजनिक सूचना २०६४ को दफा ६ र ७ बमोजिम निवेदकको हकमा सूचना पाउने अधिकारलाई कुण्ठित पार्दै कलैया उपमहानगरपालिकाले कार्यालयबाट भएको अनियमितता बाहिर आउने भएपछि लेखा र जिन्सी शाखाले समयभित्र सूचना उपलब्ध गराएको छैन ।
सार्वजनिक सूचनाको हकले निवेदकले मागेको सूचना सम्बन्धित अधिकारीले १५ दिनभित्र उपलब्ध गराउनु पर्ने भएपनि कलैया उपमहानगरपालिकाले माग गरेको लामो समयसम्म सूचना उपलब्ध गराउन नसकेको हो । कलैया उपमहानगरपालिकाको आर्थिक बर्ष ०७७÷०७८ मा लक्षित वर्गतर्फ उपमहानगरपालिकाको कुन वडामा कुन शीर्षकमा कहिले कार्यक्रम संचालन भएको र सूचना तथा संचारतर्फ कलैया उपमहानगरपालिकाले गत आर्थिक वर्षमा कति बजेट खर्च गरेको भन्ने बारेमा सूचनाको हक प्रयोग गर्दै गत असार २५ गते निवेदन दर्ता गराइएको थियो ।
बारामा दोस्रो निषेधज्ञाको समयमा कलैया उपमहानगरपालिकाको आर्थिक प्रशासन फाँटका सुनिल यादवको मिलोमतोमा विभिन्न गैरसरकारी संस्थामार्फत करोडौं रकम हिनामिना भएको गुनासो छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७, १५, १९, २१ र २२ मा लक्षित वर्गको कार्यक्रम संचालनको नाममा किर्ते बिल भरपाई र सहभागीको किर्ते हस्ताक्षर गरि रकम निकासा गरेपछि सूचनाको हक प्रयोग गर्दै कार्यक्रमको बारेमा लिखित रुपमा जानकारी माग्दसमेत आर्थिक शाखाले उपलब्ध गराउन सकेको छैन ।
त्यसैगरी कलैया उपमहानगरपालिका जिन्सी शाखा हेर्दै आउनुभएका दिपेन्द्र यादवले समेत सडक बत्ति, स्टेशनरी समान खरिद, हार्डवेयर, छपाइ र चापाकल वितरण सम्बन्धि शीर्षकमा लाखौ भ्रष्टाचार भएको स्थानीयहरुको गुनासो छ ।