काठमाण्डौं,बङ्गलादेशको नयाँ प्रधानन्यायाधीशमा नियुक्त उच्च अदालतका सैयद रेफात अहमदले शपथ लिनुभएको छ । प्रधानन्यायाधीशमा नियुक्त अहमदलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आइतवार पद तथा गोपनीयताको शपथ गराउनुभएको बीबीसीले जनाएको छ । यस्तै दुई जना सल्लाहकार सुप्रदीप चकमा र डा. विधान रञ्जन रायले पनि शपथ लिनुभएको छ ।
यसअघिकी प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएपछि हिजो राष्ट्रपति शहाबुद्दिनले अहमदलाई नियुक्त गर्नुभएको थियो ।
सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनका कारण पूर्वप्रधानमन्त्री देशबाट भागेर भारत पुगेयता बङ्गलादेशमा उच्च पदस्थ व्यक्तिहरूले राजीनामा दिने क्रम शुरू भएको छ । विद्यार्थीहरूको देशव्यापी प्रदर्शन र नयाँ अन्तरिम सरकार गठनपछि पनि विभिन्न विश्वविद्यालयका कुलपतिले राजीनामा दिइरहेको खबरमा उल्लेख छ ।
पछिल्लो पटक कोमिला विश्वविद्यालयका कुलपति प्रोफेसर डा. एएफएम अब्दुल मोइनले राजीनामा दिनुभएको छ । यसअघि बङ्गलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी शाहिदुल्लाहले राजीनामा दिनुभएको थियो । यस्तै हिजो ढाका विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयका कुलपतिले राजीनामा दिएका थिए ।



















