वीरगन्ज,सरकारले अनुदानमा खरिद गरेको रासायनिक मल डिएपी वीरगन्ज आइपुगेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मध्ये कलकत्ता बन्दरगाहबाट छुटेको एक र्याक अर्थात २ हजार ५ सय मेट्रिक टन डीएपी मल वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी आलोक कुमारले एक साता अघि मल कलकत्ता आइपुगेको मंगलवार पहिलो र्याक वीरगन्ज आइपुगेको जानकारी दिनुभयो । उहाँले भन्सार जाँच पासको प्रक्रिया पूरा भएपछि कार्यालयमा ल्याइने र त्यसपछि वितरण सुरु गरिने बताउनुभयो ।
उहाँका अनुसार स्वीस सिंगापुर कम्पनी मार्फत खरिद गरिएको २० हजार मेट्रिक टन डीएपी मल मध्ये १५ हजार बोरा वीरगन्ज नाकाबाट भित्रिनेछ । वीरगन्जबाट भित्रिएको डीएपी मल मध्ये ७ हजार मेट्रिक टन मल प्रादेशिक कार्यालय भैरहवाका लागि जाने छ ।
जोर्डनबाट खरिद गरिएको डीएपी मलको लागत ६ हजार ७ सय ११ रुपैयाँ प्रतिबोरा छ । ४ हजार ५ सय ११ रुपैयाँ सरकारी अनुदान रकम कटाएर २ हजार २ सय रुपैयाँ प्रतिबोरा बिक्री मुल्य कायम गरिएको छ । कम्पनीको प्रादेशिक कार्यालयले चालु आर्थिक वर्ष २०७९,८० का लागि खरिद गरिएको ३० मेट्रिक टन युरिया ३० हजार मेट्रिक टन वितरण गरिसकेको छ ।