काठमाण्डौ – साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो पाँचौँ खेलमा बङ्गलादेशलाई हराएको छ ।
थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हरायो । नेपालका लाक्पा तामाङ, सरोज तामाङ, सञ्जय स्याङ्तान र विक्रान्त नरसिंह रानाले गोल गरे । बङ्गलादेशका एमडी रहबर वाहेद खानले गोल गरे ।

प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो । नेपाल यसअघि नै उपाधि प्रतिस्पर्धाबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराउँदा दोस्रो खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेल्दा चौथो खेलमा माल्दिभ्ससँग २–१ गोलले पराजित भएको थियो ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।



















