वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनलमा सीधा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लिग चरणका शीर्ष दुई टोली आमनेसामने हुन लागेका हुन्। आयोजकको खेल तालिकाअनुसार खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायर जित्ने टोलीले सोझै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। त्यसैले दुवै टोली पहिलो प्रयासमै फाइनलको यात्रा तय गर्न चाहन्छन्।

यस खेलमा लुम्बिनीलाई सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि छ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको उद्घाटन खेलमा पनि सात विकेटको जित निकालेको थियो।

उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमै समेट्दै सहज जित हासिल गरेको थियो। यसअघि पनि सुदूरपश्चिमविरुद्ध राम्रो प्रदर्शन गर्दै आएको लुम्बिनी आजको खेलमा आफ्नो दबदबा कायम राख्ने योजनामा हुनेछ।

लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। सात खेलबाट पाँच जित, एक हार र वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनीले ११ अंकसहित पहिलो स्थान हासिल गरेको थियो।

त्यस्तै, सुदूरपश्चिमले पाँच खेलमा जित र दुई खेलमा हार बेहोर्दै १० अंकसहित दोस्रो स्थान सुरक्षित गरेको थियो।

यसअघिका दुई भेटमा लुम्बिनीले बाजी मारे पनि फाइनल प्रवेशको दबाबमा सुदूरपश्चिम पनि कम छैन। दुवै टोलीका लागि आजको खेल उपाधि यात्रामा महत्वपूर्ण हुने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a Reply