निजगढ,निजगढ नगरपालिका सिगौंलका युवाहरु यतिबेला झाडी र फोहोरले कुरुप बनेको सुकेपोखरी ताल सरसफाइ गर्ने अभियानमा जुटेका छन् ।
निजगढबाट सिंगौल जाने पक्की सडकको किनारामा पर्ने सोे पोखरीको सरसफाइमा स्थानीय युवाहरु सक्रिय बनेका हुन । निजगढबाट सिंगौल जाने मार्गसँग जोडिएको पोखरीलाई सुन्दर, सफा, र आकर्षक पार्न सरसफाइ अभियान सुरु गरिएको स्थानीय युवा सर्जु थापाले बताउनुभयो । थापाका पहलमा युवाहरुले टोली बनाएर हरेक हप्ताको शनिवार एकदिन ताल परिशरको सरसफाइ गर्ने गरिएको होे । उनीहरुले विगत एक महिलादेखि तालको निरन्तर सरसफाइ गर्दै आएका छन । थापाले सामाजिक संजाल फेसबुकबाट सरसफाइ कार्यक्रमको गतिविधि सार्वजनिक गर्दै आउनुभएको स्थानीय सर्वसाधारण र विभिन्न संघ, संस्था र क्लबका युवाहरुले अभियानमा सहयोग गर्दै आएका छन ।
पर्यटकीय शंभावना बोकेको सो ताल पछिल्लो समय संरक्षणको अभावमा मिचाहा प्रजातिको झार, घाँस, प्लाष्टिकजन्य र अन्य फोहोर थुप्रिएर कुरुप र दर्गन्धित बन्दै गएको छ । घना जंगलबीचमा करिव ८ बिघामा फैलिएको सो ताल पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यको रुपमा स्थापित हुदै आएको छ । तालको संरक्षणमा निजगढ नगरपालिकाले पूर्वाधार निर्माणको सामान्य काम गरेको भएपनि यसको विकासको लागि पर्याप्त ध्यान नदिएको स्थानीयले गुनासो गर्दै आएका छन ।