काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार निर्णय गर्दै एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाएको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले पत्र पठाएर एन्फालाई निर्णयबारे जानकारी गराएका छन्। पत्रमा एन्फाले ५ अप्रिल २०२६ मा पठाएको अनुरोध तथा राखेपले यसअघि जारी गरेका विभिन्न पत्रलाई आधार मानेर प्रतिबन्ध फुकुवा गरिएको उल्लेख छ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको जनाएको छ।
यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत गराइएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहले राखेपबाट निलम्बन फुकुवासम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री समित पोखरेलले एएफसीको बैठकका अवसरमा थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम रहेको छ। उक्त भेटअघि नै राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय सार्वजनिक गरेको हो।
राखेपले गत माघमा एन्फामाथि प्रतिबन्ध लगाएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफरेन्स) भएको भन्दै एन्फालाई समेत प्रतिबन्ध लगाएको थियो।

















