काठमाडौँ । नेकपा ९एमाले० की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीलाई थप सुदृढ र गतिशील बनाउन आलोचना तथा आत्मालोचनाको संस्कृतिलाई संस्थागत गर्नुपर्ने बताएकी छन्।
बिहीबार राजधानीमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभित्रका कमीकमजोरी पहिचान गरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्। उनका अनुसार स्वस्थ आलोचना र आत्मालोचना पार्टीलाई जीवन्त, प्रभावकारी र बलियो बनाउने महत्वपूर्ण आधार हुन्।
उनले आलोचना कसैलाई कमजोर बनाउने उद्देश्यले गरिने विषय नभएको उल्लेख गर्दै आत्मालोचनालाई पनि कमजोरी वा हीनताबोधका रूपमा लिन नहुने बताइन्। पार्टीमा सही विचार र प्रवृत्तिले उचित स्थान नपाए संगठन प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो।
लामो समय संवैधानिक जिम्मेवारीमा रहेपछि पुनः सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले आफ्नो राजनीतिक सक्रियता कुनै पद वा सुविधाका लागि नभई पार्टीको वैचारिक विकास र संगठनात्मक सुदृढीकरणका लागि भएको स्पष्ट पारिन्।
सम्बोधनका क्रममा उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने तथा राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने टिप्पणी गरिन्।
उनले संविधानको रक्षा, सुशासनको प्रत्याभूति र जनताका दैनिक समस्याको समाधानमा एमालेले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
गत निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै भण्डारीले हारलाई आन्दोलनको भविष्यसँग जोडेर हेर्न नहुने धारणा राखिन्। विगतका अनुभव र ऐतिहासिक विरासतबाट पाठ सिक्दै पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
त्यसैगरी, उनले पार्टीका जनसंगठनलाई थप सक्रिय बनाउने, युवापुस्ताको विदेश पलायन रोक्ने तथा जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने दिशामा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरिन्।

















