काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त आवासीय राजदूत डा। निश्चलनाथ पाण्डेले नयाँदिल्ली पुगेको दुई दिनमै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

बिहीबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत पाण्डेले राष्ट्रपति मुर्मुसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। दिल्ली पुगेको छोटो समयमै प्रमाणपत्र बुझाउने उनी पहिलो नेपाली राजदूत बनेका छन्।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार यसअघि भारत पुगेका नेपाली राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाउन डेढ महिनादेखि तीन महिनासम्म कुर्नुपरेको थियो। पाण्डेले भने दुई दिनमै प्रमाणपत्र बुझाउने अवसर पाएका हुन्।

उपाध्यायले यस घटनालाई ऐतिहासिक भन्दै नेपालसँगको सम्बन्ध सुधार गर्न भारत इच्छुक रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गत कात्तिक ३० गते डा। पाण्डेलाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका थिए। सोही दिन उनलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो। त्यसलगत्तै उनी भारत प्रस्थान गरेका थिए।

Leave a Reply