काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले एमालेका नेता तथा कार्यकर्तामा पार्टी एकता र गठबन्धनका लागि बढी हतारो देखिएको टिप्पणी गरेका छन्। उनले राजनीतिक हारजितबाट निराश वा हतास नभई धैर्यताका साथ अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार दैलेखमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै पुनले दक्षिणपन्थी, स्वेच्छाचारी तथा फासिस्ट प्रवृत्तिविरुद्ध संघर्ष गर्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य आवश्यक रहेको बताए।
उनले निर्वाचन वा राजनीतिक संघर्षमा जित्दा विपक्षीलाई कमजोर ठान्ने र हार्दा विपक्षीलाई अत्यधिक शक्तिशाली देख्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा राखे।
पुनले कम्युनिस्ट आन्दोलनभित्र मात्रै नभई आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेसलगायतका राजनीतिक शक्तिमा समेत निराशा र हतासाको मनोविज्ञान बढेको बताए।
विशेषगरी एमालेका नेता तथा कार्यकर्तामा पार्टी एकता र गठबन्धनका लागि बढी आग्रह देखिएको उनको टिप्पणी थियो। ‘जहाँ गयो, त्यहीँ पार्टी मिलाऔँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ भन्ने सुनिन्छ,’ पुनले भने, ‘यस्तो तहको हतासा हुन जरुरी छैन।’
उनले चुनाव जित्दा संयमित भएर शक्तिको सही प्रयोग गर्नुपर्ने र पराजित हुँदा पनि निराश नभई आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए।
यद्यपि, संविधान र वर्तमान राजनीतिक व्यवस्था रक्षाका लागि एमालेसँग समेत सहकार्य गर्न आफूहरू तयार रहेको पुनले स्पष्ट पारे। यसका लागि सदन र सडक दुवै मोर्चामा वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो।
संविधान र व्यवस्थाको रक्षाका लागि प्रतिबद्ध राजनीतिक शक्तिहरूसँग साझा मुद्दामा सहकार्य गर्न आम नागरिक तथा कार्यकर्तालाई तयार पार्नुपर्नेमा उनले जोड दिए।
















