वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले लगातार तीन महिनादेखि मासिक राजस्व असुली लक्ष्य पार गरेको छ। भदौदेखि सुरु भएको लक्ष्यभन्दा बढी राजस्व संकलनको क्रम कात्तिकमा पनि कायम रहेको कार्यालयको तथ्यांकले देखाएको छ।
कात्तिक महिनाका लागि भन्सार विभागले १७ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले लक्ष्यभन्दा बढी अर्थात् १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो निर्धारित लक्ष्यको १००।८९ प्रतिशत हो।
वीरगन्ज भन्सारलाई चालु आर्थिक वर्षमा २ खर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ। कात्तिकसम्ममा वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन भइसकेको कार्यालयले जनाएको छ। विभागले देशभरका भन्सार कार्यालयका लागि निर्धारण गरेको कुल राजस्व लक्ष्यको करिब ४६.८ प्रतिशत हिस्सा वीरगन्ज भन्सारलाई तोकेको छ।
कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार आयात व्यापारमा आएको सुधार, विभिन्न वस्तुको आयातमा भएको वृद्धि र भन्सार प्रक्रियाबाट प्राप्त हुने राजस्वले असुली बढाउन सहयोग गरेको छ।
वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत वस्तुको आयात हुने गरेको छ। देशको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले राष्ट्रिय राजस्व संकलनमा यस कार्यालयको योगदान महत्वपूर्ण रहँदै आएको छ।
लगातार तीन महिना मासिक लक्ष्य पूरा हुनु राजस्व संकलनमा सकारात्मक संकेत भए पनि वार्षिक लक्ष्य हासिल गर्न बाँकी महिनामा समेत यही गति कायम राख्नुपर्ने चुनौती छ।

















