काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा चलनचल्तीमा प्रयोग गर्न अयोग्य नोट नष्ट गरेको छ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट जम्मा तथा सट्टाभर्नाका लागि प्राप्त भएका झुत्रा, मैला र च्यातिएका नोट धुल्याएर ब्रिकेट बनाइएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। यो रकम २०८३ असार मसान्तसम्म ६।०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
यसैबीच, केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता र प्राविधिक मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्दै नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउने काम भइरहेको जनाएको छ। नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा राखिएको छ।
गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान नोट आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थानमध्ये २३ करोड, १०० रुपैयाँ दरका ३० करोड थानमध्ये २१ करोड र ५०० रुपैयाँ दरका २३ करोड थानमध्ये १२ करोड नोट आपूर्ति भएका छन्।
त्यसैगरी ५० रुपैयाँ दरका ४२ करोड र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ।
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन्। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ थियो।















