कलैया,बाह्यशक्तिले जस्तोसुकै दवाव दिए पनि नेपालमा राजसंस्था पुनः फर्कन नसक्ने मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा तथा मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा बुधवार कलैयामा आयोजना गरिएको ‘पत्रकार आचार संहिता पालना’ सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री लेखीले नागरिक स्तरमा राजसंस्थाको समर्थन शून्य रहेको र बाह्य शक्तिले मात्रै दवाव दिएर नेपालमा राजसंस्था फर्किदैन भन्नुभयो । उहाँले राजको शासनबाट आजित बनेर नै जनताले ०६२÷०६३ सालको आन्दोलनमार्फत राजतन्त्र फ्याकेको बताउदै उहाँले जनताले बिदा गरेको संस्था फेरि नफर्किने दाबी गर्नुभयो । ‘नेपालीले राजाको शासन भोगिसकेका छन, उहाँले भन्नुभयो, जनता राजाको पक्षमा छैनन, विदेशीहरुको दवावले मात्रै राजसंस्था फकिदैन ।’
अर्को प्रशंगमा मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालयको बजेट अत्यन्त न्यून रहेकोले पनि जनताको चाहनाअनुसार काम गर्न समस्या भएको मन्त्री लेखीले बताउनुभएको छ ।
आफ्नो मन्त्रालयमा अन्य मन्त्रालयहरूको तुलनामा न्यून बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार, मधेश प्रदेशका अन्य मन्त्रालयहरूसँग अर्बौंको बजेट रहँदा गृह, संचार तथा कानुन मन्त्रालयको कुल बजेट केवल ७७ करोड मात्र छ।‘सीमित बजेटका कारण संचार गृह तथा संचारकर्मीहरूको हितमा प्रभावकारी योजना अघि बढाउन कठिनाइ भइरहेको छ, मन्त्री लेखीले भन्नुभयो, सीमित स्रोतका बावजुद पनि संचार क्षेत्रको विकासका लागि विशेष समिति गठन गरेर मन्त्रालयले आवश्यक रणनीति निर्माण गरिरहेको छ ।’ उहाँले पत्रकारहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति, जीवन बीमा, पत्रकारिता सम्बन्धी तालिम लगायतका विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर ४ (१) का प्रदेश सदस्य देवनारायण चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, महासंघ बारा शाखाका पूर्वअध्यक्ष कमलकुमार उपाध्याय, गुरुप्रसाद गौतम, लक्ष्मी साह, कार्यबाहक अध्यक्ष पन्नालाल दास, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठलगायत विभिन्न संचारकर्मी तथा पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल गौरवले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्णले पत्रकार आचार संहिताबारेमा बोल्नुभएको थियो।



















