काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ।
कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। तिहार र छठ बिदापछि अदालत खुलेसँगै उनको रिट सुनुवाइका लागि पेसीमा चढेको हो।

















