वीरगन्ज,कोरोना महामारीको तेस्रो लहरको जोखिम बढिरहँदा वीरगन्जको नारायणी अस्पतालमा दाताहरुको सहयोगमा अक्सिजन पाइपलाइन जडान भएको छ । विभिन्न दाताको सहयोगले सर्जरी, मेडिकल र प्याड्रेटिक वार्डमा अक्सिजन पाइपलाइन जडान भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा अक्सिजन पाइपलाइन जडानका लागि वीरगन्जको त्रिवेणी गु्रपले ११ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको र उक्त रकमबाट उद्योग वाणिज्य संघ वीरगन्जको आर्थिक सहयोगमा निर्माण भएको २० बेडको बाल सघन चिकित्सा कक्षमा पाइपलाइन जडान भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन डा.नीरजकुमार सिंहले बताउनुभयो ।

यसैगरी क्याल ग्रुपको २० लाख, नेपाल फर्मास्युटिकल्स कम्पनीको १७ लाख र सूर्य टोबाकोको १३ लाख रुपैयाँको सहयोगले सर्जरी, मेडिकल लगायतको वार्डमा अक्सिजन पाइपलाइन जडान कार्य सम्पन्न भएको डा. सिंहले बताउनुभयो । अस्पतालको एचडीयू वार्डको पाइपलाइन मात्र सरकारको बजेटले जडान भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र प्रधानले बताउनुभयो । यसैबीच नारायणी अस्पतालमै पर्सा क्षेत्र नंबर २ का सांसद विमलप्रसाद श्रीवास्तवको संसदीय कोषअन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १ करोड ४७ लाख ९२ हजार रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान भइसकेको छ । उक्त प्लान्टबाट अहिले परिक्षणका रुपमा अक्सिजन उत्पादन भइरहेको निमित्त मेसु डाक्टर प्रधानले जानकारी दिनुभयो ।

४५ लाखको स्वास्थ्य उपकरण सहयोग

लायन्स क्लब इन्टरनेशनलले नारायणी अस्पताल वीरगन्जलाई ४५ लाख बराबरको स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । विश्वब्यापी कोरोना महामारीको तेश्रो लहरलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप लायन्स क्लब ईन्टरनेशनलको सहयोगमा प्राप्त भएका स्वास्थ्य उपकरणहरु नारायणी अस्पताललाई सहयोग गरिएको लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टीपल काउन्सिल चेयरपर्सन रमेश अग्रवालले बताउनुभयो ।

वीरगन्जको नारायणी अस्पतालको सभाहलमा आयोजित हस्तान्तरण कार्यक्रममा प्रदेश २ का उर्जा, खानेपानी तथा सिँचाई मन्त्री ओमप्रकाश शर्माले लायन्स क्लबद्वारा प्रदान गरिएको भेन्टीलेटर २ थान, ब्रेन सर्किट २० थान, सि प्याप मास्क २० थान, एनआइभी (बी प्याप वीथ ह्युमिडिफायर) २ थान, एनआइभी (बी प्याप वीथआउट ह्युमिडिफायर) २ थान, १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर २ थान लगायत ४५ लाख मुल्य बराबरका स्वास्थ्य उपकरण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र प्रधान तथा नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कोरोना महामारीमा लायन्स क्लब दानवीर कर्णको रुपमा उदाएको बताउँदै आफुले पनि लायन्स क्लबको सामाजिक अभियानमा सक्दो सहयोग गर्ने बताउनुभयो । लायन्स क्लब एरिया नम्बर २ का एरिया चिफ लायन बासु तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन राम प्रसाद भट्ट, भाइस डिष्ट्रिक्ट गभर्नर लायन सि.बी. चन्द, पाष्ट ईन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, लायन्स क्लबका को–चिफ डिष्ट्रिक्ट एडभाइजरद्वय लायन रामबिहारी पाण्डे, लायन देव चौधरी, लायन आशा अग्रवाल, लायन आकाश सर्राफ, लायन विजय गुप्ता, एरिया सेक्रेटरी लायन उमेश शर्मा, रिजन चेयरपर्सन लायन विजया ओझैया, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, लायन रामेश्वर गुप्ता, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी, लायन उमेश साह कानु, लायन विजय कुशवाहा, लायन सुमन श्रेष्ठ लगायत लायन्स क्लबका अन्य पदाधिकारी एवं अस्पतालका चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here