कलैया,चालू आर्थिक वर्षको चार महिना बित्दा पनि बारा जिल्लाका २ सहित मधेस प्रदेशका २४ वटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । बाराको महागढीमाई नगरपालिका र विश्रामपुर गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन नसकेका हुन ।देशभरका सात सय ५३ मध्ये सात सय २९ वटा पालिकाले बजेट ल्याइसकेका छन् । मधेस प्रदेशका २४ र लुम्बिनी प्रदेशको एक गरी २५ वटा पालिकाले अहिलेसम्म बजेट प्रस्तुत गर्न नसकेका हुन् ।
चालू आर्थिक वर्षको पहिलो चौमासिक बित्दासम्ममा मधेस प्रदेशको एक सय १२ पालिकाले बजेट प्रस्तुत गरे । तर जनप्रतिनिधिबिचको आपसी विवाद, योजना छनोटमा असंतुष्टीलगायतका कारण मधेशका २४ वटा पालिकाले प्रस्तुत गर्न नसकेका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, मधेश प्रदेशका महोत्तरी, सप्तरी, सिराहा, धनुषा, रौतहट, बारा र पर्साका नगरपालिका र गाउँपालिका गरी २४ पालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सकेका छैनन् । साथै लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि अहिलेसम्म चालू आर्थिक वर्षको बजेट प्रस्तुत नगरेको विवरण छ ।
संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते पालिकाले बजेट प्रस्तुत गर्नुपर्छ । पालिकाले आ–आफ्नो सभामा पेश गरेको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले पनि बजेट प्रस्तुत गर्न सकेका छैनन् ।त्यस्तै, धनुषाको धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट प्रस्तुत नगरेको पाइएको छ ।

Leave a Reply