वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । हिजो साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ मा शिक्षक मृत अवस्थामा फेला परेका हुन् ।नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टीमा शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।शिक्षक पराजुली सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत रहेको बारा प्रहीका प्रवक्ता दधीराम न्यौपानेले जनाए ।उनका अनुसार अत्याधिक मादक पदार्थ सेवन भएको कारण मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ । तर त्यसको बाबजुद पनि शिक्षक पराजुलीको के कारणले मृत्यु भएको हो त्यसको छानविन भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।उनको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिद्यालयमा हाजिर भई कामकाज गर्दै आएका थिए ।सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् बैठक बस्न नसक्दा शिक्षकहरुले बिगत ४ महिनादेखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहँदै आएको स्थानियहरुको भनाई छ ।स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन ।छठ बितिसक्दा पनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको छ भने शिक्षक कर्मचारी ३९ दिन देखि दैनिक धर्ना दिदै आएका छन् ।


















