कलैया,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै बारा जिल्लामा मतदान केन्द्रको संख्या बढाइएको छ । जिल्ला निर्वाचन कार्यालयले ३२ वटा नयाँ केन्द्र थप गरेसँगै जिल्लाभर ५ सय ८७ मतदान केन्द्र कायम भएको हो ।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार जिल्लामा तीन सय पाँच वटा मतदानस्थल निर्धारण गरिएका छन् । मतदाताको चाप र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका पाँच सय ५५ केन्द्रमा थप गरी संख्या विस्तार गरिएको हो ।जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र एक सय ६१ मतदान केन्द्र रहेको छ । यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र एक सय ४५ मतदान केन्द्रबाट एक लाख १३ हजार आठ सय ३९ मतदाताले मतदान गर्नेछन् ।यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र तोकिएका छन् । उक्त क्षेत्रमा एक लाख १३ हजार पाँच सय २१ मतदाता रहेका छन् ।

उता निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र एक सय ३७ मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रमा एक लाख १४ हजार चार सय ३९ मतदाता रहेका छन् ।निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल चार लाख ६५ हजार सात सय ८४ मतदाताले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

Leave a Reply