जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा आधारभुत स्वास्थ्य चौकी भवनको शिलाल्यास गरिएको छ । वडाको उचिडीस्थित सार्वजनिक जमिनमा निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको उपमेयर सरस्वती चौधरीले शिलान्यास गर्नु भएको हो । उपमहानगरपालिकाको पहलमा केन्द्र सरकारको ३७ लाखको बजेटमा निर्माण हुने भवन आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेछ । भवनसँगै सडक र थप पूर्वाधार निर्माणमा उपमहानगरले सहयोग गर्ने उपमेयर चौधरीले बताउनुभयो । उहाँका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका १५ वटा वडामा एकसाथ आधारभुत स्वास्थ्य चौकी भवन निर्माण हुने छन् । जसअनुसार वडा नं. १, ३, ४, ५, ६, ८, ९, ११, १३, १४, १६, १८, २०, २२ र २३ का विभिन्न स्थानहरुमा विभिन्न ठेकेदार कम्पनीहरुले भवन निर्माणको जिम्मा लिएर धमाधम काम भैरहेको उपमेयर चौधरीले जानकारी दिनुभयो । भवन शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष अर्जुनप्रसाद दाहाल, सदस्य कमलाकुमारी न्यौपाने, कुमार लामा, चिन्ता माझीलगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।