निजगढ,बारा जिल्लाको निजगढ नगरपालिकास्थित पूर्व– पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा चार जना यात्रु सामान्य घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय निजगढका अनुसार आइतवार दिउँसो करिब १ः२० बजे, निजगढ नगरपालिका– ९ स्थित सहिद चोक नजिक जनकपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८९७६ नम्बरको यात्रुवाहक बसले ओभरटेक गर्ने क्रममा सडक छेउमा रोकी राखिएको ना.३.च. ४४९ नम्बरको पिकअप गाडीको अगाडिको भागमा ठक्कर दिएको हो ।

दुर्घटनामा बस र पिकअप दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको छ । बसमा सवार चार जना यात्रु सामान्य घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि सी.टी. अस्पताल निजगढ पठाइएको छ भने अन्य घाइतेहरू उपचारको लागि आफै सिमरा र वीरगञ्जतर्फ गएका छन ।

घाइतेमध्ये सिरहा नगरपालिका– १ निवासी करिब ५८ वर्षीया मञ्जु देवी साहको दुवै खुट्टामा भित्री चोट लागेको छ । उहाँको अवस्था सामान्य रहेको र सी.टी. अस्पताल निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सर्लाही हरिवन नगरपालिका– ७ निवासी करिब ४५ वर्षीय गगनदेव प्रसाद कुशहवाको दाँतमा सामान्य चोट लागेको र उहाँ उपचारका लागि आफैं वीरगञ्जतर्फ गएको बुझिएको प्रहरीले जनाएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका– ४ निवासी करिब ४६ वर्षीय दीपक बीकेको ओठमा सामान्य चोट लागेको र उहाँ पनि उपचारका लागि वीरगञ्जतर्फ गएको जनाइएको छ ।
महोत्तरी बर्दिबास नगरपालिका– २ निवासी करिब ४० वर्षीय पूर्ण बीकेको टाउकोमा सामान्य चोट लागेको र उहाँलाई उपचारका लागि सिमरातर्फ गएको बुझिएको प्रहरीले बताएको छ ।
दुर्घटनामा संलग्न बसका चालक धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका– ५ निवासी करिब ३८ वर्षीय ओमप्रकाश झालाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ । पिकअप गाडी घटनास्थलमै रहेको छ भने बसमा सवार अन्य यात्रुहरूलाई प्रहरीले गन्तव्यतर्फ पठाइसकेको छ ।घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply