काठमाडौं, १ मंसिर । मोरङको रंगेलीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लाको बोका मोजदार–२, मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, ४० वर्षीया सकुन्तला पासवान र १८ वर्षीय करण पासवान रहेका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब पौने ८ बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट नियन्त्रणमा लिएको हो।
भारतबाट पैदल नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो।
जाँचका क्रममा उनीहरूको साथबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















