काठमाडौँ,रौतहटको गौर नागरपालिका– ९ स्थित गौर–सिरसिया सडक खण्डमा हत्या गरेर सुटकेसभित्र राखिएको अवस्थामा आइतवार बिहान एक महिलाको शव भेटिएको छ ।गौरको मुठवलबा गेट नजिकै मृत भेटिएकी महिलाको शव गौर नगरपालिका– २ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताउनुभयो । शाहको हत्या गरेर शव सुटकेशभित्र हालिएको प्रहरीको आशंका छ ।

माधवनारायण नगरपालिका– ६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका– २ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् । डेरामा उनकी आमा र छोरा पनि सँगै बस्थे ।
भारतमा विवाह गरेकी रुवीले छोरा पढाउन भनेर महादेवपट्टिमा डेरा लिएकी हुन् । उनका श्रीमान भारतको मुजफ्फरपुरमा बस्छन् । शनिवार साँझ ४ बजेतिर रुवी बजारमा किनमेल गरेर आउँछु भनेर डेराबाट निस्केकी थिइन । तर भोलिपल्ट उनको शव सडकमा सुटकेशभित्र फेला परेको हो । कुहिनो र घुँडा जोडेर शव सुटकेशमा प्याक गरिएको थियो ।

अन्यत्र हत्या गरेर रुवीको शव गौर–सिरसिया सडक खण्डमा ल्याएर फ्याँकेको मधेस प्रदेशका डीआईजी उमा चतुर्वेदीले बताउनुभएको छ ।प्रहरीले रुवीको को–कोसँग रिसिइवी थियो भन्नेबारे अनुसन्धान गरिरहेको छ । उनको नाकबाट रगत बगेको भएपनि शरीरमा अन्यत्र कुनै चोटपटक देखिएको छैन । शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।

Leave a Reply