कलया, १ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ बेलहियामा गोठमा आगलागी हुँदा तीनवटा पशुचौपायाको जलेर मृत्यु भएको छ। आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय राजदेव यादवको गोठमा मंगलबार बिहान अचानक आगलागी भएको हो। इँटाको पर्खाल र फुसको छाना रहेको गोठमा लागेको आगोले त्यहाँ बाँधिएका एउटा भैँसी, एउटा पाडा र एउटा बाख्रा जलेर मरेका छन्।

आगलागीमा गोठमा राखिएका लत्ताकपडासमेत जलेर नष्ट भएका छन्। साथै, आगो नियन्त्रणका क्रममा प्रयोग हुने दमकलका दुई रोल पाइप पनि जलेर क्षति पुगेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद राना मगरको कमान्डमा सात जना प्रहरी कर्मचारीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। प्रारम्भिक अनुमानअनुसार घटनामा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

Leave a Reply